काठमाडौं, ५ फागुन । प्रहरीले नक्कली नोटसहित चारजनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोक क्षेत्रबाट १ हजार दरका २९४ थान नक्कली नेपाली नोटसहित चारजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौं नयाँ बजार बस्ने रौतहटको गौर नगरपालिका–१२ घर भएका २८ वर्षीय पृथ्वीप्रसाद साह, रौतहट राजपुर नगरपालिका–३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका–६ घर भएका ३० वर्षीय असरफ अली सहिद र रौतहटको गौर नगरपालिका–९ घर भएका २८ वर्षीय महमद शम्साद आलम रहेका प्रहरीले जनाएको छ ।

उनीहरूलाई नक्कली नोटको अवैध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।