जनकपुरधाम, ४ फागुन । धनुषामा एक वडाध्यक्षको मोटरसाइकल चोरी गरेको आरोपमा एकजना नाबालक पक्राउ परेका छन् ।

जिल्लाको विदेह नगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष बिनोद गोइतमानले चढ्ने प्रदेश २–०२–००१ब–००३१ नम्बरको सरकारी मोटरसाइकल फागुन १ गते राति उनको घरबाट चोरी भएको थियो ।

शहीदनगर नगरपालिका–३ यदुकोहास्थित भट्टी चोकबाट चोरी भएको उक्त मोटरसाइकलसहित सिरहाको मिर्चेया नगरपालिका–५ बस्ने एक नाबालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

ती नाबालकलाई इलाका प्रहरी कार्यालय खजुरीको नियन्त्रणमा राखेर चोरी सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।