सोच विचार गरेर फायर मिस नहुने गरि हामी फायर खोल्छौं : इश्वर पोखरेल

जनकपुरधाम, ३ फागुन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले केपी ओली नेतृत्वको सरकारलाई ढालेर देशमा राजनीतिक अस्थिरता उत्पन्न गरिएको बताएका छन् ।
मंगलबार प्रेस चौतारी नेपाल धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेलाई कमजोर बनाउने गठबन्धनकारी शक्तिको एकमात्र उद्देश्य रहेको जिकिर गरे ।
उनले भने,‘एमसीसी टेबुल गर्ने सन्दर्भमा बुधबार थुप्रै नाटकहरु हुन्छन् । त्यो हेर्नुहोला ।’
‘हामी उत्तेजना र आवेशमा केही गर्दैनौं । सोंच विचार गरेर फायर मिस नहुने गरि हामी फायर खोल्छौं । कुन बेला के कदम चाल्नुपर्छ त्यसका लागि हामी तयार छौं । राष्ट्रिय राजनीतिलाई गलत दिशातर्फ हामी जान दिदैनौं,’उनले थपे,‘स्थानीय तहको निर्वाचनलाई पर सार्ने खेल अन्तर्गत महाअभियोगको नाटक रचिएको छ । तर, यो निर्वाचनलाई हामी कुनै पनि हालतमा पर सार्न दिदैनौं ।’
राष्ट्रिय राजनीतिलाई अस्थिर बनाउने काम भईरहेको टिप्पणी गर्दै पोखरेलले भने,‘देश बनाउने सपनालाई चकनाचुर गरिएको छ ।
आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभीमान तथा स्वतन्त्रता, सामाजिक सदभावका कुराहरु नेकपा एमालेले विगतदेखि नै उठाउँदै आएको बताउँदै उनले एमालेको विरुद्धमा असैद्धान्तिक गठबन्धन गरिएको दावी गरे ।
गठबन्धन भित्रै अहिले विभिन्न विचारधाराका व्यक्तिहरु रहेकोले गठबन्ध नटिक्ने दावी समेत उनले गरे । गठबन्ध राजनीतिक स्थायीत्व तथा आर्थिक विकास र समृद्धिको वाधक रहेको पोखरेलको आरोप छ ।
‘प्रचण्ड र देउवा सरकारमा भएको बेला नै एमसीसी सम्झौता गरिएको थियो । सरकार भनेको अविच्छिन उत्तराधिकारवाला संस्था हुन्छ । तर, प्रचण्डले एमसीसीको नाममा राष्ट्रवादको नारा लगाएर नाटक रचेका छन् ।’
शेरबहादुर देउवा नेतृत्वको सरकारले निकालेको सयदिने प्रगति विवरणमा नेपालको चुच्चे नक्सा नराखी फुच्चे नक्सा राख्नु आफैंमा हास्यास्पद रहेको समेत उनले बताए ।
नेता पोखरेलले सभामुख अग्नी प्रसाद सापकोटाको टाउकोमाथि झुण्डिएको तरवार राखिएको टिप्पणी समेत गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


