एमसीसी पास गर्न ढिलाइ गर्न नहुने नेतृ कोइरालाको भनाइ

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले एमसीसी पास गर्न ढिलाइ गर्न नहुने बताएकी छन् ।
कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमसिसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्ने बताएकी हुन् ।
उनले अनुदान लिन्नँ भन्नु हास्यास्पद भएकोले अन्तर्राष्ट्रिय सम्बन्धलाई राम्रो बनाइराख्न एमसिसी टेबुलबाट पास गर्नुपर्ने बताइन् । उनले नेपालमा ठूला अनुदान भित्र्याउन नदिने षड्यन्त्रकारी शक्ति रहेको भन्दै यसलाई हरेक पार्टीले समर्थन गरेर पास गर्नुपर्ने बताइन् ।
‘एमसीसी हामीले टेबुल गरेर पारित पनि गर्नुपर्छ । यो एउटा सहयोग हो । अनुदानलाई लिन्नँ भन्दा राम्रो देखिँदैन । अन्तर्राष्ट्रिय सम्बन्ध पनि बिग्रेर जान्छ’ उनले भनिन्, ’यो आयोजना हरेक पार्टीको प्रधानमन्त्रीले अघि बढाएको छ । हरेक पार्टी र त्यसबाट बनेका प्रधानमन्त्रीले यो लिन्नँ यो स्वीकार्य हुन्न भन्नु हुँदैन ।’
नेतृ कोईरालाले एमालेसहितका सबै दलहरुले सरकारमा रहँदा एमसिसी पास गर्नुपर्ने कुरा अघि सारेकोले अहिले विरोध गरेर दोहोरो चरित्र देखाउन नहुने बताइन् । उनले नेताहरूले ’डबल स्ट्यान्डर्ड’ भएर काम गरे जनतामाझ उनीहरूको छवि बिग्रेर जाने औंल्याइन् ।
एमसिसी पारित गर्दैमा नेपाललाई कसैले कब्जा गर्न नसक्ने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


