काठमाडौं, ३ फागुन । नेपालका चर्चित साहित्यकार डा. तारानाथ शर्माको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो ।

लामो समयदेखि डिमेन्सिया (विस्मृति) रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको स्वास्थ्य समस्या झेल्दै आएका थिए ।

‘बेलाइततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध संग्रहका लेखक शर्माका नेपाली, अंग्रेजी, भाषा, व्याकरणसहितका १ सयभन्दा बढी पुस्तक प्रकाशित छन् ।

शर्माले ‘बेलाइततिर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार पाएका थिए । शर्माको माध्यमिक तह पाठ्यक्रममा रहेको ‘घनघस्याको उकालो काट्ता’ निबन्धले उनको नियात्रा लेखनको अनौपचारिक र रोचक शैलीलाई चिनाउन सुरु गरेको हो ।

शर्माका दुई छोरा र श्रीमती रहेका छन् ।