काठमाडौं, २ फागुन । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले प्रयोग गर्ने गाडी तोडफोड गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

माघ १३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. गिरी चढेको गाडीमा अज्ञात समूहले ढुंगा हानेका थिए ।

गाडी तोडफोड गर्नेहरुलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । पक्राउ गरेको एक साता बितेको छ । तर, प्रहरीले आरोपीहरुको नाम सार्वजनिक गरेको छैन् । महानगरीय प्रहरी प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले अनुसन्धान जारी भएको बताए ।

आयोगको कार्यालय सानोठिमी भक्तपुर जाँदा अन्तर्राष्ट्रिय विमानस्थल पछाडी काँडाघारीमा गिरी सवार प्रदेश–३–०१ ००२ झ ४९१५ नम्बरको गाडीमाथि ढुंगा प्रहार गरिएको थियो । ढुंगा प्रहारबाट गाडीको पछाडीको सिसा फुटेको छ । सो घटनापछि गिरीलाई व्यक्तिगत सुरक्षा अधिकृत दिइएको छ ।