चार न्यायाधीशविरुद्ध महाअभियोग लगाउने एमालेको तयारी

काठमाडौं, २ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सत्तारुढ गठबन्धनका तीन दलका सांसदले महाअभियोग लगाएपछि नेकपा एमालेले पनि काउन्टर महाअभियोगमा सर्वोच्चका चार न्यायाधीशविरुद्ध महाअभियोग लगाउने तयारी सुरु गरेको छ ।
नेकपा एमालेले सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध महाअभियोग प्रस्ताव संसद सचिवालयमा आजै दर्ता गर्ने सम्भावना बढेको छ ।
यसअघि नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध पनि महाअभियोग प्रस्ताव दर्ता गर्न सक्ने सम्भावना बताइएको थियो । तर, नेकपा एमालेले तत्काल सभामुख सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव नल्याउने भएको छ ।
‘हामीले बारम्बार सभामुख सापकोटाले गैरसंवैधानिक काम गरेको भनिरहेका छौँ, उहाँलाई पदबाट हटाउनु पर्ने अहिलेको आवश्यकता हो,’ नेकपा एमालेका एक स्थायी कमिटी सदस्यले भने, ‘तर, संसदमा हाम्रो संख्या सभामुखविरुद्ध महाअभियोग प्रस्ताव पारित हुने अवस्थामा छैन, त्यसैले अहिले नै उहाँविरुद्ध महाअभियोग प्रस्ताव हामी ल्याउँदैनौँ ।’
सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पनि नेकपा एमालेले उपस्थिति नजनाउने भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


