जनकपुरधाम, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताको हक अधिकारका विरुद्ध अब कुनैपनि षडयन्त्र भए आउने दिनमा अझ शक्तिशाली आन्दोलन हुने चेतावनी दिएका छन् ।

२७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकार र मधेसी सहिद प्रतिस्ठानले आइतबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष प्रचण्डले संघिय सरकारले पनि मधेसको अनुशरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने,‘मलाई अप्ठ्यारो पर्यो भने फेरि मधेसमै आएर शक्ति आर्जन गर्छु । मधेसको निम्ति तागत पनि लगाउँछु ।’

अध्यक्ष प्रचण्डले पाँच दलिय गठबन्ध तोड्ने षडयन्त्र पहिलो दिनदेखि नै जारी रहेको र शान्ति सम्झौता तथा १२ बुँदे समझदारी मन नपराउने नेताहरु अहिलेपनि त्यसको विरुद्धमा लागेको आरोप समेत लगाए ।

‘केही तत्वहरु गठबन्धन तोड्ने षडयन्त्रमा लागेका छन,’उनले भने,‘तर,संविधानको रक्षा र त्यसको विकास, संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा एव्म राष्ट्रियताको रक्षा गर्ने मुलभूत उद्देश्यले निर्माण भएको गठबन्ध कुनैपनि ठूलो शक्तिको ताकतले टुट्दैन ।’
अध्यक्ष प्रचण्डले विगतमा जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनलाई दबाउने षडयन्त्रमा लागेका केही तत्वहरु अहिलेपनि त्यस्तै गरिरहेको जिकिर गरे ।

उनले भने,‘क्रान्तिप्रति जहिलेपनि प्रतिक्रान्ति शक्ति नै हावी हुन्छ । हामीले अहिलेपनि फाइनल गोल हान्न बाँकी छ ।’

‘लामो संघर्षबाट प्राप्त भएको उपलब्धिलाई फेरि उल्ट्याउने षड्यन्त्र गरियो,’उनले भने,‘जसको परिणामस्वरुप संसद विघटन गरिएको थियो । तर, जनताको बलिदानीबाट प्राप्त भएको अधिकार अन्ततः खोस्न दिइएन् । देशलाई अन्ध्यारो सुरुङ्गमा फस्न दिइएन् । परिवर्तन उल्ट्याउन दिइएन् । प्रतिगमनलाई परास्त गरि हामी अन्ततः सफल भयौं ।’

अध्यक्ष प्रचण्डले जनताको जिवनमा नयाँ परिवर्तन ल्याउन क्रियाशिल सबै राजनीतिक दललाई अगाडि बढनुपर्ने आवश्यकता रहेको समेत बताए ।

माओवादीबाट मात्र मधेसले नयाँ आत्मसम्मान पाएको बताउँदै अध्यक्ष प्रचण्डले समावेशी समानुपातिक लोकतन्त्र माओवादी आन्दोलनको परिणामा रहेको दावी समेत गरे । उनले माओवादी आन्दोलन उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग र समुदायको मुक्तिका लागि भएको जिकिर गरे ।

अध्यक्ष प्रचण्डले मधेस प्रदेश सरकारले विगत केही समयदेखि नयाँ संदेश प्रवाह गरिरहेको भन्दै प्रदेश सरकारको खुलेर प्रशंसा समेत गरे ।

कार्यक्रममा मधेस प्रदेश सरकारले माओवादी सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका ३८ जना सहिद परिवारलाई एक लाख रुपैयाँका दरले आर्थिक सहयोग समेत गरेको छ । अध्यक्ष प्रचण्डले सहिद परिवारलाई उक्त रकम हस्तान्तरण गरे ।

सहिद परिवारहरूलाई तीन चरणमा तीन लाख रुपैयाँ दिने सरकारको योजना छ ।