काठमाडौं, १ फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि साथ दिने बताएका छन् ।

आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएका हुन् ।

सो क्रममा बोल्दै मन्त्री बडूले प्रधानन्यायाधीश जबराबिरुद्ध संवैधानिक निकास आवश्यक रहेको भन्दै दुई तिहाईले यसलाई समर्थन गर्ने विश्वास व्यक्त गरे ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठको प्रस्ताव तथा नेपाली कांग्रेसका सांसद मिनेन्द्रप्रसाद रिजाल लगायत गठबन्धनका ९५ जना सांसदहरूको समर्थनमा महाअभियोग प्रस्ताव दर्ता भएको हो ।