काठमाडौं, १ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएको घोषणा गरेका कमल थापा फेरि राप्रपा नेपालको अध्यक्ष बनेका छन् ।

निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको राप्रपा नेपालमा उनी फेरि अध्यक्ष बनेका हुन् ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएको घोषणा गरेका थापाले नयाँ पार्टी बनाउने तयारी सुरु गरेका थिए । यसका लागि उनले नयाँ पार्टीको नाम राष्ट्रिय एकता पार्टी राख्ने समेत निर्णय गरिसकेका थिए । तर, अब उनले पुरानै राप्रपा नेपाल ब्यूँताउने भएका छन् ।

राप्रपा नेपालका अध्यक्ष लाक्पा शेर्पाले राजीनामा दिएपछि कमल थापाको अध्यक्षतामा राप्रपा नेपाल पुनर्गठन गरिएको छ ।

राप्रपा नेपाल कमल थापाले नै स्थापना गरेको पार्टी हो । २०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण भएको थियो । त्यसपछि राप्रपा नेपालको नाममा निर्वाचन आयोगमा नयाँ पार्टी गठन भएको थियो ।

शेर्पाले आफूले यो पार्टीको अध्यक्षबाट राजीनामा दिएको बताएका छन् । योसँगै कमल थापा फेरि राप्रपा नेपालको अध्यक्ष बनेका हुन् ।