काठमाडौं, १ फागुन । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग दर्ताको पत्र बुझेका छन् । आफूमाथि लागेको महाअभियोग पत्र बुझ्न उनी अदालत पुगेका थिए ।

पत्र बुझेलगत्तै जबरा अदालतबाट बाहिरिएका छन् । सत्ता गठबन्धनका ९८ सांसदहरूले आजै जबराविरुद्ध संसद् सचिवालयमा पत्र दर्ता गराएका थिए । सचिवालयले जबरा र सर्वोच्च अदालतलाई पत्रमार्फत सो कुराको जानकारी गराएको थियो ।

प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोगको बारेमा एमालेले गम्भीर ध्यानाकर्षण गराएको छ । एमालेले पार्टीको बैठक बसेर त्यसबारे आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ ।

महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा परेका छन् । नेपालको संविधानको धारा १०१ को उपधारा ६ अनुसार उनी स्वतः निलम्बित भएका हुन् । अब यो महाभियोगको टुंगो नलागेसम्म उनले कुनै पनि काम गर्न पाउने छैनन् ।

जबरा निलम्बनमा परेपछि वरिष्ठ न्यायाधीश दीपक कुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।