जनकपुरधाम, १ फागुन । धनुषाको हंसपुर नगरपालिकाका एक वडाध्यक्षले पोखरी ठेक्कावापत संकलन भएको राजश्व रकम नगरपालिकामा नबुझाई आफैं लिएको बुझिएको छ ।

सार्वजनिक पोखरी ठेक्कावापतको रकम हंसपुर नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष कामेश्वर कापरले नगरपालिकामा नबुझाएको खुलेको हो ।

भगवानपट्टीस्थित सार्वजनिक पोखरी ठेक्कावापत आम्दानी भएको ११ लाख १० हजार रुपैयाँ कापरले नगरपालिकामा दाखिला नगरेको प्रशासकिय अधिकृत केशव कुमार अधिकारीले बताए ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा २०७८ सालमा वडाध्यक्ष कापरमाथि बेरुजु भएको ११ लाख १० हजार रुपैयाँ सात दिन भित्र दाखिला गर्न पत्रचार गरिएको उनले बताए । वडाध्यक्ष कापरले रकम नबुझाए कानुन अनुसार कारवाही प्रक्रिया अगाडी बढाइने प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताए ।

एउटै पोखरी दुईजनालाई ठेक्का लगाएको, पोखरी ठेक्का सम्झौता विवरण र आम्दानी नगरपालिकालाई प्राप्त नभएको भन्दै महलेखापरीक्षकको प्रतिबेदनमा ११ लाख १० हजार रुपैयाँ वडाध्यक्ष कापरबाट असुल उपर गर्न दिइएको निर्देशन अनुसार राजश्व असुल उपर गर्न नगरपालिकाले ७ दिन भित्र रकम दाखिला गर्न पत्रचार गरिएको उनले जानकारी दिए ।

वडाध्यक्ष कापरले किता नं.३३० को एउटै सार्वजनिक पोखरी ०७५ असोज १८ गते देखि तीन वर्षका लागि मदन कुमार झा र नविन कुमार चौधरीलाई १६ लाख ६५ हजारमा ठेक्का लगाएर ०७५ असोज २५ गते मदन कुमार झाबाट पहिलो किस्ता ५ लाख ५५ हजार भर्पाई गरेर बुझेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।