जनकपुरधाम, १ फागुन । आइतबारदेखि नेपाल रेल्वे कम्पनीले यात्रुबिना नै रेल सञ्चालन गरेको छ । कम्पनीले इनर्वादेखि कुर्था र कुर्थादेखि इनर्वासम्म दैनिक एक पटक रेल सञ्चालन गरेको हो ।

उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न रेल आजदेखि दिनको एकपटक चलाउन सुरु गरिएको छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले प्राविधिक अवस्था बुझ्न यात्रुबिनाको रेल चलाउन लागिएको जानकारी दिए ।

‘आइतबारदेखि करिव एक हप्तासम्म नियमित ‘ड्रायरन’ सुरु गरिएको छ । धेरै दिनदेखि थन्काएर राखिएकोले रेल्वेको प्राविधिक अवस्था बुझ्न हामीले यात्रुबिनाको रेल चलाउन सुरु गरेका हौँ,’ उनले भने ।

लिकमा हाटबजार र आवतजावतमा समेत रोक लगाइएको जानकारी दिँदै झाले पशु तथा छाडा चौपाया रोक्न पनि सम्बन्धित पालिकामार्फत सर्वसाधारणलाई यसअघि नै जानकारी गराइसकिएको बताए ।

‘तालिम लिएका ५९ जना नेपाली कर्मचारी र १४ जना भारतीय कर्मचारी आइतबारदेखि काममा खटेका छन् । १२ जना भारतीय कर्मचारी भने उद्घाटनपछि आउने छन्,’ उनले भने ।

आइतबार बिहान ११ बजे इनर्वाबाट चलेको रेल १२ बजे जनकपुरधाम आएको थियो ।

‘हामीले आगामी महिनाको पहिलो वा दोस्रो सातामा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा जयनगर–कुर्था रेल सेवाको उद्घाटन गर्ने तयारी गरिरहेका छौँ,’ महाप्रबन्धक झाले भने ।

रेल उद्घाटनपछि सुरुका एक हप्तासम्म दिनको एकपटक आउने र जाने गरी रेल सञ्चालन गर्ने र त्यसपछि यात्रुको चाप तथा आवश्यकता हेरेर दिनमा २–३ पटकसम्म पनि रेल सञ्चालन गर्न सकिने तयारी गरेको उनले बताए ।

२ असोज २०७७ असोजमा भारतबाट ८४ करोड ६५ लाखमा खरिद गरिएका दुई सेट रेल जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वामा थन्क्याइएको थियो ।