एमसीसीबाट देशको विकास हुन्छ : बरिष्ठ नेता भण्डारी

जनकपुरधाम, २९ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बरिष्ठ नेता शरतसिंह भण्डारीले एमसीसी देशको हित र पक्षमा रहेको दाबी गरेका छन् ।
भण्डारीले एमसीसी संसदबाट पास होस भन्ने शर्त अमेरिकी सरकारको नभई नेपाल सरकारकै शर्त रहेको बताएका हुन् ।
१० वर्ष अगाडी नेपाल सरकार स्वयंले विकासको योजना माग गरेपछि अमेरिकी सरकारले एमसीसी परियोजना नेपालमा ल्याउन लागेको भण्डारीले स्पष्ट पारे ।
‘यस १० वर्षको अवधिमा जति सरकार बने ती सबैले एमसीसीको प्रक्रिया अगाडी बढाए,’उनले भने,‘आफैले त्यो शर्त राखेपछि स्वभाविक रुपले त्यो पूरा गर्नु पर्छ । अहिले आएर यो कसरी राष्ट्रघाती भयो ?’
भण्डारीले एमसीसीबाट देशको विकास हुने दाबी गर्दै यो परियोजना संसदबाट पास हुन नदिनुमा सबैभन्दा ठूलो बाधक सभामुख रहेको आरोप लगाए ।
‘खेलाडीहरु बाहिर खेलका लागि तयार छन् तर संसदको रेफ्री सभामुख भने खेल नै सुरु गर्न चाहिरहेका छैनन्,’उनले भने,‘जुन रेफ्री वा अम्पायर खेल सुरु गर्न चाहँदैनन् त्यस्ता रेफ्री वा अम्पायरलाई हटाउनु नै उत्तम विकल्प हो ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दा भण्डारीले आफ्नै दलको विदेशी नाम राखेर मधेश केन्द्रित दलहरुलाई विदेशीले बनाई दिएको अभिव्यक्ति दिनु हास्यास्पद रहेको टिप्पणी गरे ।
शुक्रबार एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले मधेश केन्द्रित दलहरुलाई विदेशीहरुले बनाई दिएको अभिव्यक्ति दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


