जनकपुरधाम, २९ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विशुद्ध रुपले विकासमुखि कार्यक्रम रहेको दावी गरेका छन् ।

अध्यक्ष ठाकुरले एमसीसी देशको समग्र विकासका लागि सहायक सिद्ध हुने समेत दाबी गरेका हुन् ।

उनले भने,‘एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नभई देशको समग्र विकासका लागि सहायक सिद्ध हुन्छ । यस परियोजना अन्तर्गत नेपालमा अमेरिकी सेना नआउने स्पष्ट भइसकेको छ । कुनै सैनिक संगठनसँग पनि परियोजनाको कुनै सम्बन्ध छैन् ।’

परियोजनाबाट प्राप्त हुने अनुदान रकम सडक तथा विद्युतमा मात्रै खर्च हुने भएकाले यसमा शंकाको कुनै ठाउँ नरहेको उनको भनाइ छ । अनुदानको रकम कुन क्षेत्रमा लगानी गर्ने विषयमा समेत विज्ञहरूले प्रतिवेदन दिइसकेकोले शंका गर्न नहुने उनले बताए ।

ठाकुरले एमसीसीको बिरुद्धमा बोल्नेहरु चिनको बिआरआई प्रोजेक्टको विषयमा किन चुप्प छन् ? भन्दै प्रश्न समेत गरेका छन् ।

‘बिआरआईका लागि कहाँबाट कसरी ऋण आउन लागेको छ ? ब्याज कति प्रतिशत लाग्छ ? त्यो पनि सबैलाई थाहा छ’,ठाकुरले भने,‘तर, बीआरआईबारे कोही बोल्दैनन् । एमसीसीमार्फत अनुदान आउँदा त्यसमा केको विरोध ? केको हस्तक्षेप ?’