काठमाडौं, २८ माघ । नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले दुग्ध विकास संस्थानले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई संघले दुग्ध विकास संस्थानले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले डिडिसीले आफैं सम्मिलित भएर गरेको निर्णयलाई लत्याएकोले भन्दै अब नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघ आफ्नो ढंगबाट अघि बढ्ने बताए ।

उनले अबका दिनमा आफूहरू दुग्ध विकास संस्थानसँग सँगै जान नसक्ने र किसानहरूलाई संस्थानको भन्दा २ रुपैयाँ बढी दिने र उपभोक्तासँग १० रुपैयाँ बढी लिने पनि बताए ।

नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ बनाउने निर्णय गरेको अध्यक्ष सापकोटाको भनाइ छ ।