काठमाडौं, २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले कमल थापा पुनः पार्टीमा फर्किने विश्वास व्यक्त गरेका छन् ।

बिहीवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरूसँग बोल्दै पूर्वअध्यक्ष शमशेरले यस्तो बताएका हुन् ।

उनले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको बताए । पूर्वअध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको उनको भनाइ छ ।

जबराले भने, ‘यो अनपेक्षित घटना हो । उहाँको धेरै गुनासोहरू सार्वजनिक भइसकेको थियो । तर, हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्यता लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ । त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ । अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो । तीनै चरणको निर्वाचनमा पार्टीले गम्भीर भएर सोच्नुपर्छ । उहाँ पार्टीमा पुनः फर्किनुहोस् भन्ने आशा छ ।’

उनले आगामी तीनै चरणको निर्वाचनमा पार्टी गम्भीर भएर लाग्नुपर्ने बताए ।