जनकपुरधाम, २७ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिकाका एक वडाध्यक्षविरूद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।

बिहिवार पिपरा गाउँपालिका वडा नम्बर–५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरूद्ध भ्रष्टाचार आरोप–पत्र दायर भएको हो ।

गाउँपालिकाअन्तर्गतको सहोडवास्थित सुब्बा पोखरीको ठेक्का कबुलगरी रकम नबुझाएको उजुरीको आधारमा ३५ लाख २१ हजार २०४ रूपैयाँ विगो राखेर यादवविरूद्ध आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

यादवले तत्कालीन सहोडवा गाविस कार्यालयले २०७१ भदौ १ गतेदेखि २०७६ भदौ मसान्तसम्मका लागि ठेक्का बन्दोबस्त गर्दा सुब्बा पोखरीको ठेक्का पाएका थिए ।

पोखरी हकभोग गरेवापत गाविस कार्यालयलाई बुझाउनुपर्ने रकम यादवले नबुझाएको भन्दै उजुरीको आधारमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

ठेक्का अवधिका लागि ५४ लाख ६४ हजार ६ रूपैयाँ सकार गरेका यादवले २०७३ माघ ४ सम्म जम्मा १९ लाख ४२ हजार ८०१ मात्र बुझाएको अख्तियारले जनाएको छ ।

अख्तियारले वडाध्यक्षमा निर्वाचित भैसकेपछि यादवले पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम नबुझाइ आफूलाई गैरकानुनी लाभ पु¥याएको ठहर गर्दै ठेक्का वापतको बाँकी रकम ३५ लाख २१ हजार २०४ रूपैयाँ असुलउपर गर्न विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।

वडाध्यक्ष यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम दफा ३(१) र दफा ३(१) को खण्ड (छ) बमोजिम सजाय हुन तथा हानिनोक्सानी भएको सम्पत्ति रु.३५ लाख २१ हजार २०४ रुपैयाँ ८० पैसा र सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन समेतको मागदाबी लिई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बिशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको हो ।