जनयुद्धका क्रममा शहिद भएकाहरुको परिवारलाई मधेस सरकारले आर्थिक सहयोग गर्ने

जनकपुरधाम, २७ माघ । मधेस प्रदेश सरकारले जनयुद्धका क्रममा शहिद भएकाहरुको परिवारलाई आर्थिक सहयोग प्रदान गर्न लागेको छ ।
फागुन १ गते मनाइने जनयुद्ध दिवसका दिन एक बिशेष कार्यक्रमको आयोजना गरी जनयुद्धका शहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।
बिगत तीन बर्षदेखि माघ ५ गतेलाई मधेस बलिदानी दिवसको रुपमा मनाउँदै आएको मधेस प्रदेश सरकारले पहिलो पटक फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरेको हो ।
जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गतको मधेशी शहिद प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमलाई पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए ।
कार्यक्रममा २०५२ सालदेखि २०६२ सालसम्म चलेको जनयुद्धका क्रममा शहिद भएकाहरुको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने सचिव महतोले बताए ।
पहिलो चरणमा कार्यक्रममै प्रदेशको ८ वटै जिल्लाका ५–५ जना गरी ४० जना जनयुद्धका शहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने सरकारको तयारी रहेको उनले बताए ।
त्यसपछि क्रमशः अन्य शहिद परिवारहरुलाई पनि सम्मान र आर्थिक सहयोग प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


