काठमाडौं, २६ माघ । सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

सहन्यायाधिवक्ता थापाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उच्च सरकारी वकिलको कार्यालय पोखरामा हुँदा घुससहित रंगेहात पक्राउ परेका थापाविरुद्ध अख्तियारले ६१ लाख २ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोपसहित मुद्दा दायर गरेको छ ।

५ असार २०४५ मा सरकारी सेवामा प्रवेश गरेका थापाको गत वर्षसम्म १ करोड ७६ लाख रुपैयाँ मात्रै वैध आर्जन हुनेमा सम्पत्ति छानविन गर्दा २ करोड ३७ लाख रुपैंया आर्जन गरेको भेटिएको अख्तियारको भनाइ छ ।

६१ लाख रुपैयाँको स्रोत नखुलेको भन्दै अख्तियारले थापामाथि मुद्दा चलाएको हो ।

अख्तियारले सरकारी वकिलमाथि गैरकानूनी सम्पत्तिआर्जनको मुद्दा चलाएको यो दुर्लभ घटना हो ।

अख्तियारले उनकी पत्नी अञ्जु खड्का थापाविरुद्ध पनि मुद्दा चलाएको छ ।