पर्सा, २६ माघ । मोटरसाइकल चोरी गरेको आरोपमा पर्साबाट तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ का रंजित सहनी, १९ वर्षीय सभन पाठक र पर्साको विन्दवासिनी गाउँपालिका–२ का २८ वर्षीय राजनाथ यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सहनी र पाठकले बुधवार विहान पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवाका बिनोद प्रसाद सहनीको नाममा दर्ता रहेको ना १६ प २९७४ नम्बरको मोटरसाइकल आफ्नै घरको आँगनमा पार्किङ गरी राखेकोमा गेट तोडी बाटोमा ल्याई लक तोड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै मंगलवार दिउँसो वीरगञ्ज महानगरपालिका–३ ठाकुर राम क्याम्पस पछाडिको गल्लीस्थित अनिल कुमार चापागाईको नाममा दर्ता रहेको ना ४४ प ८२७५ नम्बरको मोटरसाइकल पार्किङ गरी राखेकोमा यादवले लक तोडी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।