स्थानीय तहका पदाधिकारीको कार्यकाल नसकिँदै निर्वाचनको मिति घोषणा गरेकोप्रति सोनलको आपत्ति

जनकपुरधाम, २६ माघ । लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहका पदाधिकारीहरुको कार्यकाल नसकिँदै सरकारले निर्वाचनको मिति घोषणा गरेकोप्रति आपत्ति जनाएको छ ।
लोसपा नेपाल मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले स्थानीय तहका पदाधिकारीहरुको कार्यकाल एकदिन पनि तलमाथि गरिनु संविधानको मर्म र भावना विपरित हुने जिकिर गरेका हुन् ।
सोनलले बुधबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तहका पदाधिकारीहरुको ५ वर्षको कार्यकालको पदावधि संविधानको धारा २१५ को ६, २१६ को ६ र २२० को ५ अनुसार हुने भनिएकोले उनीहरुको कार्यकाल एकदिन पनि तलमाथि गरिनु संविधानको मर्म र भावना विपरित हुने उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ,‘हामीले संसदीय प्रणाली, वहुदलीय व्यवस्था, लोकतान्त्रिक मुल्य मान्यता एंव विधिको शासनलाई आत्मसात गरेकोमा यस प्रणालीलाई अझ बढी सृदृढ एवम् संस्थागत गर्न यसको मेरुदण्डको रुपमा मानिने आवधिक निर्वाचन नै हो । तसर्थ नेपाल सरकारद्वारा स्थानीयतहको निर्वाचन घोषणा हुनु सकारात्मक छ । नेपालको संविधान बमोजिम विगतमा सम्पन्न भएको निर्वाचन पुनः संवैधानिक व्यवस्था अनुसार नै अगाडी बढने विषयलाई इनकार गर्न सकिदैन ।’
स्थानीय चुनाव घोषणा हुनु सकारात्मक रहेपनि सरकार संविधानअनुसार नै अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


