काव्या अस्पतालमा चिकित्सकको लापरबाहीका कारण आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएको पीडित पक्षको आरोप

जनकपुरधाम, २६ माघ । जनकपुरधामको विशिष्ट अस्पतालको रुपमा दाबी गरिँदै आएको काव्या अस्पतालमा चिकित्सकको लापरबाहीका कारण आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–७ किसानपुर बस्ने यैजुब अन्सारीकी २५ वर्षीया पत्नी मुर्सरफ खातुनको अप्रेसन भएपश्चात नवजात जुम्ल्याहा शिशुसहित ज्यान गएको हो । मृतकका आफन्तले चिकित्सकको लापरबाहीले बिरामी र शिशुको मृत्यु भएको आरोप लगाएका छन् ।
गत सोमबार राति खातुनलाई उपचारका लागि काव्या अस्पतालमा ल्याइएको थियो । अस्पताल पुगेकी खातुनको सोही अस्पतालका डाक्टरत्रय मुकेश गामी, सोनिया सिंह र विनय महासेठले अप्रेसन गरेका थिए ।
अप्रेसन गरेर निकालिएका शिशुमध्ये एकको मृत्यु भईसकेको थियो भने अर्को शिशुलाई भेन्टिलेटरमा राखिएको थियो । तर, केही घण्टामै सो शिशुको पनि मृत्यु भयो ।
चिकित्सकले शिशुलाई बचाउन नसकेपनि आमालाई यहिं सञ्चो हुन्छ भन्दै उपचार जारी राखेपनि बुधबार बिहान ७ः४५ बजे उनको पनि मृत्यु भएको मृतकका पति यैजुबले बताए ।
यता, अस्पताल प्रशासनले भने महिलालाई भर्ना भएकै दिनदेखि प्लेटलेटको मात्रा कम भएकोले अस्पतालकै चिकित्सक डा. रमित राजलगायत अन्य कर्मचारीहरु मिलेर ६/७ पोका रगत दिई उनलाई बचाउने हरकोशिस गरेको दावी गरेका छन् ।
अस्पतालका सञ्चालक डा. एस.के. सिंहले बिरामीको मृत्युको कारण अप्रेसन नरहेको जिकिर गरेका छन् । उनले एक शिशु मृत्यु भएकै अवस्थामा निकालिएको र अर्कोलाई बचाउनका लागि भेन्टिलेटरमा राखेर हरेक उपाय अवलम्बन गरिएको दावी गरे ।
महिलाको अवस्था भने क्रिटिकल हुन लाग्दा आफूहरुले बाहिर लग्न परिवारजनलाई जानकारी गराईसक्दा समेत उनीहरुले उपचार जारी राख्न भनेपछि मात्रै अस्पतालले हरेक प्रयास गरेको डा. सिंहले बताए ।
यता, यैजुबले भने चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अप्रेसनपछि आमा र शिशुहरुको समेत मृत्यु भएको दाबी गरेका छन् ।
आमासहित नवजात जुम्ल्याहा शिशुको मृत्यु पश्चात आक्रोशित बनेका पीडित परिवारले अस्पतालमा कार्यरत डा. रमित राजलगायत कर्मचारीहरुमाथि हातपात समेत गरेका छन् । उनीहरुले अस्पतालको एउटा एम्बुलेन्समा पनि तोडफोड गरेका छन् ।
केहि दिनअघि मात्र सोही अस्पतालले बिरामीसँग ११ हजार २ सय रुपैयाँ लिनुपर्नेमा २३ हजारको बिल बनाएर ठगी गरेको घटना समेत बाहिरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


