राप्रपा परित्याग गर्ने घोषणा गरेका कमल थापालाई निर्णय पुनर्विचार गर्न आग्रह

काठमाडौं, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गर्ने घोषणा गरेका निवर्तमान अध्यक्ष कमल थापालाई सो पार्टीले निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ । थापाले मंगलबार गृहनगर हेटौँडामा राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।
मंसिरको तेस्रो साता भएको महाधिवेशनमा पराजित भएसँगै असन्तुष्ट रहँदै आएका थापाले पार्टीमा आफ्नो मागको सम्बोधन नभएको भन्दै पार्टी नै परित्याग गरेका हुन् । उनको घोषणालगत्तै बसेको राप्रपाका पदाधिकारी बैठकले थापाको घोषणालाई अनपेक्षित र अप्रत्याशीत भनेको छ ।
बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रुपमा उदय र विकास भइरहेको समयमा राप्रपाका निर्वतमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्याशीत रुपमा व्यक्तिगत तबरले अगल हुने भनिएको घोषणाप्रति दुःख व्यक्त गर्दछौं । पार्टीबाट अलग हुने उहाँको निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ ।’
सोमबार मात्रै थापाले केन्द्रीय सदस्यहरुको भेला राखेर आफ्नो माग पूरा नभए पार्टी दुर्घटनामा पर्ने चेतावनी दिएका थिए । त्यसअघि उनले राप्रपामा पूर्वराजा ज्ञानेन्द्र शाह तथा निर्मल निवासबाट भएको हस्तक्षेपको विषयमा अनुसन्धान हुनुपर्ने माग गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


