काठमाडौं, २४ माघ । पत्रकार एवं नागरिक अभियन्ता तारानाथ दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य समेत रहेकी मन्त्री यादवले माघ ५ गते रौतहटमा आयोजित एक कार्यक्रममा गौर नरसंहार दोहर्याउने धम्की दिएको प्रकरणमा पत्रकार दाहालले हुलाकमार्फत जाहेरी दिएका हुन् ।

पत्रकार दाहालले हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटलाई जाहेरी पठाएको बताए । आपराधिक दुरुत्साहन सम्बन्धी कसुर गरेको जाहेरी पत्रमा उल्लेख छ ।

जाहेरी पत्रमा भनिएको छ, ‘वर्तमान परिप्रेक्ष्यमा सिके राउतको जनमत पार्टीले मधेश प्रदेशमा किसानको मुद्दाहरु उठाउँदै विरोध प्रदर्शन गरिरहेका छन् । यस आन्दोलनको क्रममा उग्र गतिविधिहरु समेत देखाउँदै आइरहेका छन् । यस्तो सन्दर्भमा बहालवाला मन्त्री जस्तो जिम्मेवार व्यक्तिको दुरुत्साहन पूर्ण अभिव्यक्तिले समाजमा शान्ति सुरक्षा बनाई राख्न चुनौति थप्छ । तसर्थ, निज अन्यायीलाई हदैसम्मको सजाय गर्नु पर्ने देखिन्छ ।’

यसअघि नेपाली काँग्रेसका नेता रंजित कर्णले पनि प्रहरीमा जाहेरी दिएका थिए ।