काठमाडौं, २४ माघ । काठमाडौं महानगरपालिका भित्रका विद्यार्थीहरुलाई सोमबारबाट कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो मात्रा लगाइँदै छ ।

फाइजर खोपको पहिलो मात्रा लगाएको तीन हप्ता पुगेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई सोमबारदेखि फागुन ५ गतेसम्म दोस्रो मात्रा दिन लागिएको हो ।

काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले तोकिएका खोप केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप दिइने जानकारी दिए ।

वडास्थित सामुदायिक शहरी स्वास्थ्य क्लिनिकमा सम्पर्क गरी पूर्ववत खोप केन्द्र तोकिएका विद्यालयहरुमा गई खोप लगाउन काठमाडौं महानगरपालिकाले जनाएको छ ।

ललितपुर महानगरपालिकामा भने माघ २७ गतेदेखि फागुन ६ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।