काठमाडौं, २४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले स्थानीय तहको चुनावको मिति घोषणा हुँदासम्म आफ्ना माग पूरा नभए अलग हुने चेतावनी दिएका छन् ।

सोमबार आफूनिकट केन्द्रीय सदस्यहरूसँगको छलफलमा उनले आफूले अघि सारेका तीनवटा माग पूरा नभए अलग पार्टी दर्ता गर्ने चेतावनी दिएका हुन् ।

उनले भने,‘स्थानीय चुनावको मिति सरकारले घोषणा गर्नुअघि सैद्धान्तिक, संगठनात्मक र व्यवहारिक विषयमा उठाइएका प्रश्न निराकरण हुँदैन भने हामीले विकल्प खोज्न बाध्य हुनेछौँ ।’

उनले पार्टी दुर्घटनातर्फ गइरहेकाले अब यसको निकास खोज्ने समय आएको पनि बताए । माग पूरा भए आफू देशका कुना–कुनामा गएर एकताको लागि पहल गर्ने पनि थापाले बताए ।