त्रिभुवन विमानस्थलबाट सुन, मोबाइल र ल्यापटपसहित चारजना पक्राउ

काठमाडौं, २३ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना पक्राउ परेका छन् ।
अवैध रुपमा भन्सार छलेर ल्याएको सुन, मोबाइल तथा ल्यापटपसहित उनीहरुलाई आइतबार बिहान विमानस्थलको आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका–८ का ३० वर्षीय पदमबहादुर अधिकारी, सोही गाउँपालिकाका ३० वर्षीय मानसिंह विश्वकर्मा, झापा शिवसताक्षी नगरपालिका–९ का २२ वर्षीय समिर रसाइली र मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ का ३२ वर्षीय गोकुल डल्लाकोटी छन् ।
जजिरा एयरको फ्लाइटद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौं आएका पदमबहादुर, मानसिंह र समिर गरी तीनैजनाको साथबाट ५८÷५८ ग्राम बराबरको सुनको सिक्री, तीन÷तीन थान, मोबाइल र एक÷एक थान ल्यापटपसहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उक्त सामानहरू भन्सार छली ल्याउन गोकुलले लगाएको भनी खुल्न आएपश्चात उक्त सामान लिन आएका गोकुलसमेतलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई बरामद सामानहरूसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरणमा बुझाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


