जनकपुरधाम, २३ माघ । सिरहाबाट लागुऔषधसहित नक्कली प्रहरी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–४ मण्डिखाटार बस्दै आएका ३२ वर्षीय अशिम गुरुङ रहेका छन् ।

सिरहाका प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाको कमाण्डमा खटेको प्रहरी टोलीले शुक्रवार अपरान्ह साढे ३ बजे सिरहा नगरपालिका–७ स्थित युवराज डिलक्सको बस काउण्टरमा प्रहरी हुँ भनि धम्काउने गुरुङलाई लागुऔषध सहित नियन्त्रणमा लिएका छन् ।

प्रहरीले शंकाको आधारमा गुरुङलाई चेकजाँच गर्दा उनको झोलाबाट नाइट्रोभेट–१० लेखिएको ३९ पिस ट्याब्लेट, स्पास्मो प्रोक्सिवन प्लस २२ पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले जानकारी दिए ।

त्यस्तै प्रहरी निरीक्षक अशिम गुरुङ लेखिएको नेपाल प्रहरीको नक्कली परिचय पत्र, नक्कली रिभल्वर १ थान, रिभल्वर राख्ने होलस्टर १ थान, ड्याईगन चक्कु १ थान, साइरास्याङ्गबो र अशिम गुरुङ लेखिएको मेटल नेम प्लेट २ थान, मोबाईल २ थान, चेकबुक, एटिएम कार्ड, अशिम गुरुङ नामको नेपाली नागरिकताको फोटोकपी, नेपाली रुपैयाँ ३ हजार र एनसेलको ३ वटा सिम समेत बरामद भएको उनले बताए ।

गुरुङलाई जिल्ला अदालत सिरहाबाट लागुऔषध मुद्दामा ५ दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान थालिएको डीएसपी बुढाथोकीले जानकारी दिए ।