जनकपुरधाम, २२ माघ । जनकपुरधाम उपमहानगरपालिकाको योजनामध्ये महत्वपूर्ण मानिएको धनुष आकारको सहिद गेट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधामको प्रवेशद्वार मुजेलियामा निर्माणाधीन सो गेटको करिब ९० प्रतिशत काम सम्पन्न भएको उपमहानगरपालिकाका वरिष्ठ इन्जिनीयर वीरेन्द्रकुमार यादवले बताए ।

ढल्केवर–जनकपुर ६ लेन सडकको मुजेलियामा निर्माणाधिन सहीद गेटमा रङ्ग लगाउने, भगवान् राम र सहिदको प्रतिमा स्थापनाको काम बाहेक सम्पूर्ण कार्य सकिएको उनले बताए । जनकपुरधाम उपमहानगरपालिकाको करिब ४ करोडको लागतमा निर्माण भइरहेको सहिद गेट केही दिनभित्रै सम्पन्न हुने वरिष्ठ इन्जिनीयर यादवको भनाइ छ ।

धार्मिक पर्यटकीय नगरीका रुपमा परिचित मधेस प्रदेशको राजधानी जनकपुरधाममा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धार्मिक, राजनीतिक र सांस्कृतिक पहिचान झल्किने गरी उपमहानगरपालिकाले धनुष आकारको सहिद गेट निर्माण गर्न लागेको छ ।

२०७७ असार २० गते नगरप्रमुख लालकिशोर साहले सो सहिद गेटको शिलान्यास गरेका थिए । उपमहानगरपालिकासँग सम्झौता सोही दिनबाट काम सुरु गरेको निर्माण कम्पनीले २०७८ पुस मसान्तसम्ममा गेट निर्माण गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको थियो । त्यही सम्झौताअनुसार नै काम सम्पन्न गर्ने योजनाअनुरुप कामलाई तीव्रता दिइएको निर्माण कम्पनी गौरी पार्वती स्याब जेभीका साइड इन्जिनियर अमरकुमार साहले जानकारी दिए ।

ठेक्का अवधिभन्दा अगाडि नै गेटको निर्माण कार्य सम्पन्न गरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम अघि बढाए पनि कोरोनाका कारण केही ढिलाई भएको इन्जिनियर साहले बताए ।

३१ फिट अग्लो द्वारको सबैभन्दा माथि धनुष लिएका भगवान् रामको प्रतिमा रहने छ भने तीनवटा पिलरमा सहिदहरुको प्रतिमा र सिंगो द्वार धनुष आकृतिको बनाइएको छ । सो गेटको दुबै किनारामा राखिने मधेस आन्दोलनमा सम्पूर्ण सहीदहरुको प्रतिमाहरु बनाउने काम तीव्र रुपमा भइरहेको र केही दिनभित्रै प्रतिमा स्थापना गरिसक्ने उनले बताए ।

जनकपुरधाम प्रबेश गर्ने मूल बाटोमा निर्माण भईरहेको धनुष आकारको गेटले नगरक्षेत्रको सौन्दर्य बढ्नुका साथै पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने नगरप्रमुख साहको विश्वास छ ।