काठमाडौं, २२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाईभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।

मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जनतामा सेवा पु¥याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् ।

कम्पनीको १८ औँ वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले फोरजी आयोजना र मध्य पहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्ने काममा ढिलाइ नगर्न पनि नेपाल टेलिकमलाई सचेत गराए ।

मन्त्री कार्कीले तीव्र गतिको इन्टरनेट सेवाको विस्तार गरी आफ्ना ग्राहकहरूलाई छिटो, छरितो र सुलभ सेवा उपलब्ध गराउन पनि नेपाल टेलिकम समक्ष हुने बताए ।