काठमाडौं, २२ माघ । गृहमन्त्री बालकृष्ण खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एबं राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराइका दुई, हिमाली क्षेत्रका ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

शुक्रबार दिउँसो धनुषाको सवैला नगरपालिकामा रुखको हाँगा भाँचिदा स्थानीय महेन्द्र सदाकी ८ वर्षीया छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका ७ वर्षीय छोरा अरविन्द सदाको मृत्यु भएको थियो ।

गृहमन्त्री खाँणले शनिबार बिहान सहायक प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी र प्रहरी प्रमुख वसन्त रजौरेलाई बच्चाको अन्त्येष्टि एवम् अन्य आवश्यक राहतको व्यवस्था मिलाउन निर्देशन दिए ।

त्यस्तै शुक्रबारै रौतहटको बुधिमाई नगरपालिका–१ मा घर ढलेर भित्ताले च्याप्दा राममंगल रायकी ४५ वर्षीया श्रीमती फुलमतियादेवीको मृत्यु भएको थियो ।

गृहमन्त्री खाँणले रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र प्रहरी उपरीक्षक विनोद घिमिरेलाई आवश्यक राहतको व्यवस्था मिलाउन निर्देशन दिए ।

गृहमन्त्री खाँणले महाशाखा प्रमुख कोइरालालाई शनिबारको दिन भए पनि हिमाली जिल्लाको हिमपात र तराइमा हावाहुरी र शितलहरबाट प्रभावितलाई राहत र अन्य आवश्यकीय कार्यका लागि सतर्क रहन निर्देशन दिए ।

त्यस्तै मन्त्री खाँणले प्रमुख जिल्ला अधिकारीहरु दीर्घराज उपाध्याय (दार्चुला), विजयाकुमारी प्रसाईँ (जुम्ला), गणेश आचार्य (हुम्ला), शंकरहरि आचार्य (गोरखा), उमेश पाण्डे (ताप्लेजुङ), गणेशबहादुर शाही (सोलुखुम्बु), दिलकुमार तामाङ (ओखलढुंगा) र फणिन्द्र दाहाल (खोटाङ)लाई हिमपातको असरबारे जानकारी दिँदै प्रभावितको व्यवस्थापनमा जुट्न निर्देशन दिए ।

त्यस्तै डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीसँग पनि टेलिफोनमार्फत जिल्लाको अवस्थाबारे जानकारी लिए ।

–अनलाइनखबर