जनकपुरधाम, २२ माघ । मधेस प्रदेश सरकारले प्रदेशका किसानहरुको समस्या पहिचान तथा समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय समिति गठन गरेको हो ।

समितिमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो , आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साह, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र खानेपानी तथा उर्जा विकासमन्त्री ओम प्रकाश सर्राफ रहेका छन् ।

समितिलाई कृषि तथा पशुपक्षि विकास, किसानको मलखाद, विउविजन तथा सिचाई समस्या, विमाको अवस्था, डुवान कटानको अवस्था, कृषि यान्त्रीकीकरणको अवस्था र अगामी रणनीति, कृषि विद्युतिकरणको अवस्था, मधेस प्रदेशको भू–उपयोग नीति निर्माण एवं मधेस सरकारले कृषि सुधारका लागी गरेको गतिविधिको समीक्षा एवं आगामी योजनाबारे नीति निर्माण गर्ने जिम्मेवारी दिइएको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

१५ दिनभित्र अन्तरिम प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्ने समय सिमा दिइएको उच्च स्तरीय समितिलाई १ महिनामा पूर्ण प्रतिवेदन पेश गर्ने समय सिमा दिइएको प्रवक्ता साहले बताए ।