सभापतिका उम्मेदवार पजियार खराब मौसममा पनि नेता कार्यकर्ताको घरमा पुग्दै

जनकपुरधाम, २१ माघ । नेपाली काँग्रेसको १६ जिल्लाको जिल्ला अधिवेशनको मिति निश्चित नभएपनि जिल्ला नेतृत्वका लागि प्रत्यासीहरुको दौडधुप जारी रहेको छ ।
सोही क्रममा काँग्रेस धनुषाको जिल्ला सभापतिका प्रत्यासी योगेन्द्र पजियारले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
खराब मौसममा पनि नेता कार्यकर्ताको घरमा पुग्दै उनी जिल्ला अधिवेशनको तयारीमा तिव्रता दिएका हुन् ।

धनुषाको सभापति पदका लागि आफूलाई सबैको समर्थन भएको जिकिर गर्दै क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख समेत रहेका पजियारले जिल्लाव्यापी चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।
चुनावी अभियानमा लागेका उनी आफू विपन्न समुदायका पक्षमा काम गर्न राजनीतिमा होमिएको बताएका छन् ।
उनले भने,‘काँग्रेसका अधिकांश इमान्दार कार्यकर्ताहरुले कामको मुल्यांकन गरेर तपाईंले नेतृत्व गर्नुपर्छ भन्ने दबाब दिनुभएकाले मैले सभापति पदका लागि प्रतिष्प्रर्धा गर्न खोजेको हुँ ।’

उनले सभापतिमा तिनजना उम्मेदवार भएपनि आफू पहिलो चरणमै जित्ने दावीसमेत गरे ।
नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसमा कुनै गुट, उपगुट नभई अग्रजको सम्मान गर्दै युवालाई समेट्दै जिल्लामा पार्टीको संगठन बिस्तार गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।
यसअघि सम्पन्न प्रदेश अधिवेशनमा सरकार र सत्ताको दम्भ तथा धाकधम्की आएको बताउँदै पजियारले जिल्ला अधिवेशनमा त्यस्तो केही नचल्ने बताए ।

धनुषा जिल्ला अधिवेशनमा करिव ४ हजार मतदाता रहेकाले यो अधिवेशन भव्य हुने देखिएको छ । जिल्ला सभापतिमा संस्थापन पक्षबाट वर्तमान उपसभापति सन्तोष यादव, पूर्वसांसद दिनेश प्रसैला यादव र वर्तमान सचिव विशेश्वर यादवसमेत सभापतिका उम्मेदवार छन् ।
सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, नवलपरासी, बाँके, अछाम, कैलाली र मधेस प्रदेशको ८ वटा जिल्लामा अधिवेशन हुन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


