जनकपुरधाम, २१ माघ । मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका प्रत्येक घरमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।

सरकारले थालेको खोप अभियानअन्तर्गत यी जिल्लाहरुमा घरघरमा खोप लगाइने भएको हो ।

आड्रा नेपाल र बागमती सेवा समाज सर्लाहीको आयोजना एवम् स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा यी चार जिल्लाका गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा शारीरिक रुपमा फरक क्षमता भएका करिब ३२ हजार व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम रहेको छ ।

नेपाल सरकारले आगामी चैतसम्ममा शतप्रतिशत नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएअनुसार स्थानीय सरकार र प्रदेश सरकारको साझेदारीमा यी चार जिल्लाका गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका, शारीरिक रुपमा अशक्त र फरक क्षमता भएका नागरिकलाई घरघरमै पुगेर सहज रुपमा खोप लगाउने व्यवस्था गर्न लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गर्दै आगामी चार महिनाभित्रमा चार जिल्लाका ८ हजारका दरले ३२ हजार जनालाई खोप लगाइसक्ने संस्थाले लक्ष्य लिएको छ ।