मृतक पटेलको परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन विश्वहिन्दु परिषद्को माग

जनकपुरधाम, २० माघ । बाराको कलैया उपमहानगरपालिका–१९ इनरवारीमा छठ पूजाका दिन दुई समुदाय बिचको झडपमा परेर मृत्यु भएका राधेश्याम पटेलको परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन विश्वहिन्दु परिषद् नेपालले मधेस सरकारसँग माग गरेको छ ।
विश्वहिन्दु परिषदका पदाधिकारीहरुले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउँदै मृतक पटेलको परिवारलाई अविलम्ब क्षतिपूर्ती उपलब्ध गराउन माग गरेका हुन् ।
दुई समुदाय बिचको झडपमा परेर मृत्यु भएको पटेललाई धार्मिक शहीद घोषणा गर्न माग गरिएको छ । ज्ञापन पत्रमा झडपमा परेर घाइते भएका पटेलको मृत्यु भएको महिना दिन बित्दा समेत सरकारले क्षतिपूर्ती उपलब्ध नगराएकोमा सरकारको आलोचना गरिएको छ ।
ज्ञापन पत्रमा भनिएको छ,‘अमुक समुदायका व्यक्तिको मृत्यु हुँदा सरकारले झट्टै क्षतिपूर्ती दिन्छ तर पटेलको मृत्युपछि पनि सरकारले क्षतिपूर्ती उपलब्ध नगराएकोले सरकारको निश्पक्षतामाथी प्रश्न उठेको छ ।’
मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र बुझाउन विश्वहिन्दु परिषदका महासचिव जितेन्द्र सिंह, धनुषा जिल्ला अध्यक्ष संतोष साह, उपाध्यक्ष अमन गुप्ता लगायतका परिषद्का प्रतिनिधिहरु पुगेका थिए ।
गत २०७८ कार्तिक २५ गते बाराको कलैया उपमहानगरपालिका वडा नम्बर–१९ इनरवारीमा छठ पूजाको विषयमा दुई समूदायबिच विवाद हुँदा पटेल घाइते भएका थिए । घाइते पटेलको एलएस न्युरो एण्ड जेनरल हस्पिटल प्रा.लि.मा उपचारको क्रममा २०७८ पुस २१ गते मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


