काठमाडौं, २० माघ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १७५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९५ हजार ६३ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ ।त्यस्तै, ८ लाख ८७ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल ६१ हजार ८६२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये २८१ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ६६ हजार ५४० जनाले खोप लगाएका छन् ।