बाँके, २० माघ । डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीमा प्रधानमन्त्री र कृषिमन्त्रीको पुत्ला दहन गरेको छ ।

पार्टीले अघि सारेका मागहरु सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै जनमतले प्रधानमन्त्री र कृषिमन्त्रीको पुत्ला दहन गरेको हो ।

जनमत पार्टी रुपन्देहीको आयोजनामा रुपन्देहीको धकधई, बनगाईलगायतका स्थानमा प्रधानमन्त्री र कृषिमन्त्रीको पुत्ला दहन गरिएको बताइएको छ ।

जनमत पार्टीले किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमै मल र बिउको उपलब्ध हुनुपर्ने, सिंचाईको व्यवस्था, सिंचाई नभएको ठाउंमा सिंचाईका लागि प्रयोग हुने विद्युत निःशुल्क, किसानलाई राहत,कृषि बालीको समर्थन मूल्य, उखु किसानको बक्यौता भुक्तानी, किसानलाई पेन्सन लगायतका बिभिन्न ११ बुँदे माग सरकारसंग राखेको छ ।

पार्टीले पुस १२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई किसानका समस्या,नागरिकता समस्या लगायतका मागहरु समेटिएको ज्ञापनपत्र बुझाएपनि मागहरु सम्बोधन गर्नुको साटो आन्दोलनमा सरकारले दमन गरेको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए ।