जनकपुरधाम, २० माघ । मधेस प्रदेशको बारा जिल्लाबाट एक वडासचिव घुससहित पक्राउ परेका छन् ।

जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर–११ रामपुर्वाका वडासचिव विनोद प्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको हो ।

जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवं उजुरीका आधारमा अख्तियारको कार्यालय हेटौडाबाट खटेको टोलीले वडासचिव साहलाई पक्राउ गरेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

सेवाग्राहीबाट ३ हजार ५ सय रुपैयाँ घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको भण्डारीले बताए ।