मृतक परिवारलाई पूर्वमन्त्री सोनलले गरे आर्थिक सहयोग

वीरगञ्ज , २० माघ । बारामा रथले च्यापिएर मृत्यु भएकाहरुको परिवारलाई लोकतान्त्रिक समाजवादी पार्टीले आर्थिक सहयोग गरेको छ ।
जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर–३ बतरामा जन्ती जाने क्रममा रथले च्यापिएर मृत्यु भएकाहरुको परिवारलाई लोसपाले आर्थिक सहयोग गरेको हो ।
लोसपाका मधेस प्रदेश अध्यक्ष एंव पूर्वमन्त्री जितेन्द्र सोनलले मृतकद्वय निलम कुमारी राम र बालकुमारी रामको परिवारसँग भेटेर ५० हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।

पूर्वमन्त्री सोनलले मृतकका परिवार र घाइतेलाई आर्थिक सहयोग गरिदिन मधेस प्रदेश सरकारसँग माग समेत गरे । उनले दलित परिवार शोक र दुःखमा परेका बेला प्रदेश सरकार कानमा तेल हालेर बसेको भन्दै आपत्ति जनाए ।
सोनलले प्रदेश सरकारले मृतकका परिवार र घाइतेलाई सहयोग नगरे प्रदेशसभा बैठक अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।
मृतक परिवारलाइ आर्थिक सहयोग गर्ने क्रममा आदर्श कोतवाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुस्तफा अन्सारी, वडाध्यक्ष धर्मेन्द्र यादव, लोसपाका नेता जगत कुशवाहा, अरबिन्द यादव लगायतकाहरुको उपस्थिति रहेको थियो ।

माघ १० गते स्थानीय लक्षु राम महराका छोरा सियाराम महराको बिहेमा जन्ती जाने क्रममा रथले च्यापिएर बतराकै १५ वर्षीया निलम कुमारी राम र सिम्रौनगढ नगरपालिका–७ की २५ वर्षीया बालकुमारी रामको मृत्यु भएको थियो ।
दुर्घटनामा परी १४ जना घाइते समेत भएका थिए । घाइते मध्ये एक जनाको काठमाडांैमा र अन्यको वीरगञ्जमा उपचार जारी रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


