जनमतका कार्यकर्ताद्वारा सिरहामा एउटा तेल ट्याङ्करमा तोडफोड, १३ जना पक्राउ

सिरहा, २० माघ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले लोकमार्ग अवरुद्ध गर्ने क्रममा सिरहामा एउटा तेल ट्याङ्करमा तोडफोड गरेको छ ।
मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना.४.ख १७९८ नम्बरको तेल ट्याङ्करमा उनीहरुले तोडफोड गरेका हुन् ।
जिल्लाको नरहा गाउँपालिका–३ नयाँ चोहर्वामा उनीहरुले ढुंगामुढा गर्दा गाडीको अगाडीको सिसा फुटेको छ ।
आन्दोलनकारीहरु गाडी तोडफोड़ गरेर भाग्ने क्रममा प्रहरीसँग सामान्य झडप समेत भएको थियो । आन्दोलनकारीहरुको ढुंगा प्रहारबाट जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी हवल्दार सामान्य घाइते भएको बताइएको छ ।

ढुंगामुढा गर्ने जनमतका १३ जना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिम्लसिनाले जानकारी दिए ।
जनमत पार्टीले राजमार्ग बन्द गर्ने कार्यक्रम यसअघि नै सार्वजनिक गरेको थियो । सो पार्टीले पछिल्लो समय तराईका जिल्लामा किसान आन्दोलनको नाममा निरन्तर प्रदर्शन गर्दै आएको छ ।
किसान हकहितका लागि भन्दै गरिएको आन्दोलनले सप्तरी, सिरहा, धनुषालगायत जिल्लामा यातायात ठप्प भएको छ ।
यस्तै, राजमार्ग बन्द हुँदा मधेस प्रदेश हुँदै पूर्व–पश्चिम जाने आउने लामो दूरीका गाडीहरु पनि चल्न सकेका छैनन् ।
जनमत पार्टीले किसानलाई समयमा नै मल उपलब्ध गराउनुपर्ने, सिँचाइको व्यवस्था वा कृषि बिजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायत ११ बुँदे माग राखेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


