काठमाडौं, २० माघ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका–३ का ८० वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ का ८६ वर्षीय पुरुष रहेको बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिएका हुन् ।

८० वर्षीय पुरुषमा माघ १६ गते संक्रमण पुष्टि भएको थियो । उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको क्रममा बुधबार राति १ः५० बजे मृत्यु भएको थियो ।

त्यस्तै, ८६ वर्षीय पुरुषमा भने माघ १३ गते संक्रमण पुष्टि भएको थियो । सोही दिन अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा बिहीबार बिहान ९ बजे मृत्यु भएको उनले बताए ।