काठमाडौं, २० माघ । प्रेस काउन्सिल नेपालले सत्यतथ्य र विश्वसनीयताको पर्याप्त परीक्षण गरेर मात्रै समाचार उत्पादन र सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारजगतलाई आग्रह गरेको छ ।

केही सञ्चारमाध्यमहरूले कोरोनासँग जोडिएको भ्रमपूर्ण समाचार प्रकाशन गरेको उल्लेख गर्दै प्रेस काउन्सिलले सत्यतथ्य र विश्वसनीयताको परीक्षण गरेर मात्रै समाचार प्रकाशन गर्न संञ्चारगृहको ध्यानाकर्षण गराएको हो ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार संस्थाहरूले समाचार अनुवाद गरेर सम्प्रेषण गर्दा त्यसको तात्पर्य मिलेको छ वा छैन भन्ने कुराको प्रमाणका आधारमा मात्रै सम्प्रेषण गर्नुपर्ने बताए ।

उनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को भनाइको हवाला दिँदै ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ : डब्ल्यूएचओ’ भन्ने समाचार गलत भएकाले त्यस्तो समाचार तयार गर्ने संस्था र त्यसलाई प्रकाशन गर्ने सञ्चारगृहसँग स्पष्टीकरण लिएको जानकारी दिए ।

गत माघ १० गते प्रकाशित ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछः डब्ल्यूएचओ’ शीर्षकको समाचारमा कुनै सत्यता नभएको भन्दै नेपालस्थित डब्ल्यूएचओको कार्यालयले आपत्ति जनाएको थियो ।