जनमत पार्टीद्वारा आजदेखि लोकमार्ग दिवाकालीन बन्द

जनकपुरधाम, २० माघ । डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा किसान आन्दोलनअन्तर्गत आजदेखि मोरङ्गदेखि बर्दियासम्म राजमार्ग अवरुद्ध गरिएको छ ।
राउतको सचिवालयका अनुसार जनमत पार्टी कार्यकर्ताहरूले किसान आन्दोलनअन्तर्गत आज बिहानैदेखि पूर्व–पश्चिम लोकमार्गको ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
जनमत पार्टीले राजमार्ग बन्द गर्ने कार्यक्रम यसअघि नै सार्वजनिक गरेको थियो । सो पार्टीले पछिल्लो समय तराईका जिल्लामा किसान आन्दोलनको नाममा निरन्तर प्रदर्शन गर्दै आएको छ ।
किसान हकहितका लागि भन्दै गरिएको आन्दोलनले सप्तरी, सिरहा, धनुषालगायत जिल्लामा यातायात ठप्प भएको छ ।
यस्तै, राजमार्ग बन्द हुँदा मधेस प्रदेश हुँदै पूर्व–पश्चिम जाने आउने लामो दूरीका गाडीहरु पनि चल्न सकेका छैनन् ।
राजमार्गमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् । जनमत पार्टीले किसानलाई समयमा नै मल उपलब्ध गराउनुपर्ने, सिँचाइको व्यवस्था वा कृषि बिजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायत ११ बुँदे माग राखेको छ ।
झण्डै डेढ महिनादेखि आन्दोलन भइरहँदा पनि सरकारले आफूहरुको माग नसुनेको भन्दै उनीहरु लोकमार्ग बन्द गरी प्रदर्शनमा उत्रेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


