जनकपुरधाम, २० माघ । जनकपुरधामस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको धान खरिद नगरी ठुला–ठुला व्यापारीहरुको धान खरिद गरिरहेको किसानहरुले आरोप लगाएका छन् ।

कम्पनीको जनकपुरधामस्थित कार्यालयमा किसानको सिफारिस लिएर धान बेच्न व्यापारीहरु आउने गरेको किसानहरुले आरोप लगाएका हुन् ।

सो कार्यालयले धनुषा र महोत्तरीका किसानले उत्पादन गरेको सोना मन्सुली धान गत पुस २८ गतेदेखि खरिद गरिरहेको छ ।

कार्यालयले वडाको सिफारिसमा मात्रै किसानको धान खरिद गर्ने व्यवस्था मिलाएको छ । चालु आर्थिक वर्षका लागि सोना मन्सुली धानको समर्थन मूल्य २ हजार ९०२ रुपैयाँ तोकिएपनि वडाध्यक्ष र कम्पनीका कर्मचारीहरुको सेटिङ्गमा व्यापारीहरुको धान मात्रै खरिद गरिएको किसानको आरोप छ ।

महोत्तरीको भंगहा नगरपालिका सीतापुरबाट धान किसान भरोसी साहले ट्याक्टर भाडामा लिएर धान लोड गरी बिक्रि गर्नका लागि जनकपुरधाम आएका थिए । तर, अहिलेसम्म उनको धान बिक्री हुने कुनै छाँटकाँट छैन ।

भरोसीले भने,‘२ सय रुपैयाँमा वडाबाट सिफारिस गराएर धान बिक्री हुने, धान बेचेर राम्रो आम्दानी हुने अपेक्षाका साथ जनकपुरधाम आएको थिएँ । तर कार्यालयले मलाई टोकन नै दिएन ।

उनले आफू पुस २७ गते नै टोकन लिन जनकपुरधाम आएपनि टोकन नपाएको दुःखेसो सुनाए । ‘मलाई त्यसपछि माघ १२ गते कार्यालय आउन भनियो, १२ देखि १६ गते हुँदाहुँदै आज २० गते भइसक्यो मैले अहिलेसम्म टोकन पाएको छैन,’उनले भने ।

भरोसीले आफू प्रतिदिन दुई हजार रुपैयाँका दरले भाडामा ट्याक्टर लिएर धान बेच्न जनकपुरधाम आएको सुनाउँदै अहिलेसम्म आफ्नो धान बिक्री नभएकोले अब ऋण लिएर नै ट्याक्टर भाडा तिर्नुपर्ने बाध्यता सिर्जना भएको सञ्चारकर्मीलाई दुःखेसो सुनाए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ मुजेलियाका किसान विनोद यादवले भने,‘कम्पनीले असली किसानलाई पाखा लगाएर विचौलिया मार्फत पुग्ने व्यापारीको धान मात्रै किनिरहेको छ । असली किसानहरुलाई यहाँ धान बेच्न यहाँ धौ–धौ परिरहेको छ, नक्कलीहरु मालामाल भएका छन् । हाम्रो धान किन्न कार्यालयले आनाकानी गरिरहेको छ ।’

धनुषाको लक्ष्मीनिया गाउँपालिका बस्ने धान किसान रामछवि यादव भन्छन्,‘खाद्य व्यवस्था कार्यालयले अनेक बहाना बनाएर हामीलाई रोकेको छ । हाकिम साहेबले सिफारिस छैन भने आफूहरुले धान नकिन्ने सर्त दोर्होयाउँछन् ।’ कार्यालयले बिचौलियालाई मात्र टोकन दिएको उनको आरोप छ ।

दिनभरी धान बेच्नका लागि किसानहरु कार्यालय अगाडि लाइन लागेपनि कसैको धान बिक्री नहुने तर रात पर्नेबित्तिकै नक्कली किसानहरुको ट्याक्टरका ट्याक्टर धान बिक्री भइरहेको उनीहरुको गुनासो छ ।

यता, किसानहरुले व्यापारीको धान मात्रै कार्यालयले खरिद गरिरहेको आरोप लगाइरहँदा कार्यालयका निमित्त प्रमुख उपेन्द्र लिम्बुले यो आरोप निराधार रहेको दावी गरेका छन् । उनले कार्यालयले स्थानीय तहले सिफारिस गरेका किसानहरुलाई मात्रै टोकन दिएर धान खरिद गरिरहेको दावी गरेका छन् ।

‘वडा कार्यालयबाट सिफारिस लिएर केही व्यापारी धान बिक्री गर्न आएको कुरा सत्य हुन सक्छ,’उनले प्रश्न गर्दै भने,‘तर आफूहरुले कसरी उनी किसान छैनन् भन्ने ठम्याउने ?’

पछिल्ला वर्षहरुमा प्रतिकिसान १ सय क्विन्टल धान खरिद गरेको कार्यालयले यस वर्ष भने बढीभन्दा बढी किसानलाई लाभ पुग्ने गरी प्रतिकिसान ४० क्विन्टल धान मात्र खरिद गरिरहेको छ ।

कार्यालयले किसानहरुबाट चालु आर्थिक वर्षमा १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । माघ १९ गतेसम्ममा खाद्य व्यवस्था कार्यालय जनकपुरले किसानहरुको ९ हजार ८ सय क्विन्टल धान खरिद गरिसकेको जनाएको छ ।