तराई राजधानी हस्पिटलले फेरि लियो एक नवजात शिशुको ज्यान, क्षतिपूर्ति तिरेर घटना ढाकछोप

जनकपुरधाम, १९ माघ । स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निजी अस्पताल सञ्चालन गर्दा प्रचलित कम्पनी कानून बमोजिम स्थापन भई अनुमति प्रदान गर्ने निकायबाट स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति प्राप्त गरेको हुनुपर्दछ ।
पच्चिस शैयासम्मका अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट र पच्चिस शैयादेखि माथिका अस्पतालहरु सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रादेशिक स्वास्थ्य संरचना वा मन्त्रालयबाट स्वीकृति लिएर मात्र सञ्चालन गर्न पाउने व्यवस्था छ ।
तर, जनकपुरधाममा भने यस्तो केहि देखिंदैन । यहाँका अधिकांश अस्पतालहरु दर्ताबिना नै बर्षौंदेखि सञ्चालनमा रहेका छन् । यस्ता अस्पतालहरु दर्जनौंको संख्यामा रहेपनि जनकपुरधाम उपमहानगरपालिका तथा प्रदेश सरकार मातहतको निकायले अनुगमनतर्फ कुनै चासो नै देखाएको छैन् । यहाँ कुन कुन निजी अस्पताल र पोलीक्लिनीक तथा क्लिनीकहरु दर्ता गराई सञ्चालन भईरहेका छन्, त्यसको उपमहानगरपालिकासँग कुनै डाटा नै छैन् ।
यस्तै अवैध अस्पताल मध्येको एक हो, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ स्थित डा.भगवान सहनी र डा.गंगाप्रसाद यादवले सञ्चालन गरेको तराई राजधानी हस्पिटल । २२ शैयाको यो अस्पताल विगत करिव डेढ एक बर्षदेखि दर्ताबिना नै सञ्चालनमा रहेको पाइएको छ । दर्ताबिना नै सञ्चालित यस अस्पतालले कयौं नवजात शिशुलाई समेत मृत्युको मुखमा पुर्याइसकेको छ । तर, सरकोकारवाला निकायले अझै यस अस्पतालमाथि कुनै कारवाही गरेको छैन् ।
सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिकाविपरीत यो अस्पताल सञ्चालित छ । यो अस्पताल कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता गरेकै भरमा चलिरहेको छ । कम्पनी रजिष्ट्रारमा दर्ता भएको कम्पनीले उद्देश्यअनुसारको काम गर्नका लागि अन्य सम्बन्धित निकायसँग अनिवार्य अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । तर तराई राजधानी हस्पिटलले स्वास्थ्य सेवा सञ्चालनका लागि कुनै पनि निकायसँग अनुमति लिएको छैन् ।
अस्पताल प्रवेश गर्ने मुख्यद्वारको बोर्डमा भने कम्पनी रजिष्ट्रारको दर्ता नम्बर नलेखि त्यसलाई दर्ता नम्बर भनेर उल्लेख गर्दै बिरामी ठग्दै आएको पाइएको छ । यस अस्पतालले २०७७ असोज ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराई त्यसको दर्ता नम्बर २४३१५५ पाएको छ । तर, बोर्डमा भने कम्पनी रजिष्ट्रारको दर्ता नम्बरलाई बिरामी झुक्याउन दर्ता नम्बर भन्दै उल्लेख गरिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले पनि तराई राजधानी अस्पतालको दर्ता सम्बन्धी कुनै पनि फाईल निर्देशनालयमा नरहेको जानकारी दिए । उनले यदि यो अस्पताल २२ शैयाको मात्रै छ भने उसलाई आफ्नो बोर्डमा अस्पताल भनेर लेखाउने कुनै कानूनी आधार नरहेको समेत बताए ।
अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको दश प्रतिशच शैया छुट्याई निःशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने नियम रहेपनि यस अस्पतालले त्यस्ता बिरामीसँग पनि अवैधरुपमा रकम असुल गरिरहेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१० बस्ने सुशील राउतले भने,‘छोटो समयमै धेरै आम्दानी हुने भएकाले पछिल्लो समय स्वास्थ्य संस्थाहरुलाई पनि व्यवसायको रुप प्रदान गरिएको छ । चिकित्सकहरु व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तर सरोकारवाला निकाय मानव स्वास्थ्यमाथि भइरहेको यति गम्भीर लापरबाहीका घटनामा समेत उदासीन र मौन देखिँदै आएका छन् ।’
‘चिकित्सा पेसा एक मर्यादित, उत्तरदायी र संवेदनशील भएकाले जिम्मेवार मानिन्छ । तर, सो अस्पतालका सञ्चालकद्वय डा. भगवान सहनी र डा.गंगाप्रसाद यादवले मानव स्वास्थ्यको कुनै वास्ता नै नगरी गैरकानूनी रुपमा अस्पताल सञ्चालन गरेर खेलवाड गर्दै आएका छन्,’ स्थानीय जिवेन्द्र झाले भने । सरोकारवाला निकायमा कार्यरत अधिकारीहरूले अवैध धन्दा रोक्न छाडेर आर्थिक चलखेलमै चुक्ने गरेको उनको आरोप छ ।
‘बिनादर्ता कुनैपनि स्वास्थ्य संस्था सञ्चालन हुनु अवैध हो,’जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिताकुमारी मिश्रले भनिन्,‘अस्पताल हुनका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्छ । दर्ता भएकालाई मात्रै हामी चिन्छौं । दर्ता र नवीकरण नहुनेलाई हामी बन्द गर्ने प्रक्रिया सुरु गर्छौं ।’ यो समस्या समाधान गर्न आफू लागिरहेको उनले बताइन् ।
यो हस्पिटल सामान्य भवनमा चलिरहेको छ, जुन मापदण्ड विपरित हो । कुनैपनि अस्पतालले सेवा सञ्चालन गर्दा अस्पताल रहने स्थान धुंवा, धुलो, ध्वनि, जल तथा जमिन प्रदूषणबाट मुक्त भएको हुनुपर्नेमा यस अस्पतालले त्यस्तो मापदण्डको कुनै पालना नै गरेको छैन् ।त्यस्तै, सवारी साधन पार्किङका लागि पर्याप्त व्यवस्था भएको हुनुपर्ने र त्यसका लागि २५ प्रतिशत जग्गा छुटेयाउनुपर्नेमा कुल १८ धुर जग्गामा मात्रै सञ्चालित यस अस्पतालमा पार्किङका लागि कुनै व्यवस्थापन नै गरिएको छैन् ।
चिकित्सकको लापरबाहीका कारण नवजात शिशुको मृत्यु
जनकपुरधामस्थित तराई राजधानी अस्पतालको लापरबाहीका कारण फेरि एक नवजात शिशुको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् ।
प्रसव पीडा तेज भएपछि गत माघ १३ गते बर्दिबास नगरपालिका वडा नम्बर–६ किसानपुर बस्ने आशिक साहले आफ्ना गर्भवती पत्नी अमृता देवी साहलाई दिनको करीब १२ बजे अस्पताल भर्ना गराएका थिए । अस्पतालले नर्मल डेलेभरी हुँदैन अपरेशन गर्नुपर्छ भन्दै डा. गंगा प्रसाद यादवले अपरेशन गरिदिए ।
अपरेशनपछि ३ किलो २ सय ग्रामको स्वस्थ्य शिशु पनि जन्मियो, दिनभरि ठिक रहयो, सांझ परेपछि शिशुले मैला खाइसकेको छ भन्दै अस्पतालले उसलाई भेन्टिलेटर सहितको एनआईसीयूमा राखिदियो । शिशुका पिता आशिकले आफ्नो शिशुको अवस्था राम्रो छैन भने बाहिर लग्छु भन्दै पटक पटक आग्रह गर्दा समेत चिकित्सक गंगा साह र अस्पतालका व्यवस्थापक विकास चौधरीले शिशुलाई अस्पतालमै सञ्चो हुने दावी गर्दै शुक्रवार र शनिवार दिउँसोसम्म उपचार गरिरहे ।
शिशुको अवस्था झन बिग्रिदै गएपछि अभिभावकसँग कुनै छलफल वा सोधपुछ नै नगरी शनिवार दिउंसो ५ बजे अस्पताल व्यवस्थापकले आफ्नै मनले एम्बुलेन्स मगाएर कर्मचारी मार्फत जानकी मन्दिर पछाडि रहेको रामजानकी अस्पतालमा पठाइदियो ।
रामजानकी अस्पतालमा आइतवार, सोमवार र मंगलवार दिउंसोसम्मको उपचार पश्चात राति ९ बजे शिशुको मृत्यु भयो । अभिभावकले आफ्नो मृतक शिशुलाई माग्दा अस्पतालको १ लाख १० हजार रुपैयाँ बिल तिरेपछि मात्र शिशुलाई दिने अडान राखेपछि विवाद उत्पन्न भएको थियो ।
पीडित आशिकले भने,‘एक त गलत उपचार गरेर शिशुको अवस्था गम्भीर बनाई दियो, फेरी कमिशनको चक्करमा तराई राजधानी अस्पतालका चिकित्सक र व्यवस्थापकले रामजानकी अस्पतालमा पठाई दियो । हामीलाई यहाँ सुरुमै बच्चाको अवस्था गम्भीर छ भनी रेफर पुर्जी दिएको भए धरान, काठमाडौं वा भारतमै राम्रो उपचारका लागि लग्न सक्थें, तर पैसा थुत्ने चक्करमा यी अस्पतालले मेरो बच्चाको ज्यान लिएको छ ।’
पीडित परिवारले आफूहरुको माग सम्बोधन नभए अस्पतालविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी दिएपछि घटनास्थलमा जानकी प्रहरी चौकीका सईको नेतृत्वमा पुगेको प्रहरी टोलीले ५ घण्टाको विवादपछि उपचार खर्च मिनाहा गर्ने सर्तमा दुवै पक्षलाई सहमति गराएर घटनालाई ढाकछोप गरेका छन ।
तराई राजधानी अस्पतालको यो पहिलो घटना भने होइन । यसअघि पनि आधा दर्जनभन्दा बढि नवजात शिशुको अस्पतालका लापरवाहीका कारण मृत्यु भइसकेको छ । ती घटनाहरुमा पनि उपचार खर्च मिनहा र क्षतिपुर्ति दिएर अस्पताल सञ्चालक कारवाहीबाट बचेका छन ।
यसअघि, धनुषाको नगराइन नगरपालिका वडा नम्बर–२ स्थित नगराइन बस्ने विजय मण्डलकी २५ वर्षीया पत्नी रोशनी मण्डलले पनि आफ्नो सन्तान गुमाएकी थिइन् ।
शिशुको जन्म भएको ८ घण्टापश्चात अर्थात बिहान ४ बजे मृत्यु भएको अस्पतालले परिवारजनलाई जानकारी गराएको थियो । उनले जन्मेको केही समय पश्चात् शिशुको स्वास्थ्य अवस्था खराब भएको भन्दै अस्पतालले एनआईसीयूमा भर्ना गर्नुपर्ने भन्दै आफूहरुलाई जानकारी गराएको बताए ।
मण्डलले भने,‘राति ११ बजे नै आफ्नो बच्चा चिच्याउँदा किन यस्तो भएको हो भनेर डाक्टरको बारेमा सोधखोज गरें, तर रातभर चिकित्सक आएनन्, स्टाफ नर्सकै भरमा उपचार गर्दा मेरो बच्चाको मृत्यु भयो ।’ उनले बदमासी गर्ने चिकित्सक र हस्पिटलमाथि कारबाही हुनुपर्ने माग गरेका छन् ।
त्यसअघि, गत असोज १३ गते पनि सो अस्पतालमा एक नवजात शिशुको जन्म भएको तेस्रो दिनमै चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको थियो ।
सर्लाहीको बसबरिया गाउँपालिका–६ बस्ने अजयकुमार साहकी पत्नी सरिता साहलाई प्रसव पीडा हुँदा परिवारजनले उनलाई उपचारका लागि तराई राजधानी अस्पतालमा ल्याएका थिए । अस्पतालमा पुग्दा भिडियो एक्सरे गराउन भनिएको र एक्सरे गराएपछि अस्पतालका डा. भगवान सहनीले पानीको मात्रा कम रहेको भन्दै उनलाई तत्कालै भर्ना गर्न दबाब दिएको साहको भनाइ छ ।
शिशु जन्मिएपछि दुई दिनदेखि गम्भीर अवस्थामा रहेको र उसलाई एनआइसियूमा राखेर उपचार भइरहेको अस्पतालका बालरोग चिकित्सक डा. गंगाप्रसाद यादवले आफूहरुलाई भन्दै आएको अजयले बताए । ‘तर, बुधबार बिहान साढे ११ बजे एक्कासि शिशुको मृत्यु भयो भन्दै अस्पतालले हामीलाई जानकारी दियो,’ उनले भने ।
अस्पतालका कर्मचारीले बिहान साढे १० बजे नै शिशुको मृत्यु भइसकेको भनिरहेको अवस्थामा साढे ११ बजेतिर रेफरको पुर्जी थमाउनु आफैँमा शंकास्पद रहेको पीडित परिवारले बताए ।
यिनीहरु त उदाहरण मात्र हुन् । दर्ताबिना सञ्चालनमा रहेको तराई राजधानी अस्पताल स्थापना भएदेखि अहिलेसम्म १ हजार ५ सय भन्दा बढि बिरामीसँग उपचारको नाममा अवैध रुपमा रकम असुल गरिसकेको स्रोतको भनाइ छ ।
उपचार खर्च तिर्न नसक्दा बन्धक
यस अस्पतालले गत असार १४ गते महोत्तरीको धमौरा बस्ने निलम सदालाई उपचार खर्च तिर्न नसक्दा बन्धक बनाएर राखेको थियो ।
अस्पतालले निलमको नर्मल डेलेभरीपश्चात् पनि उनलाई बच्चासहित पाँच दिन राखेर डिस्चार्ज गरी पाँच दिनमै आमा र बच्चाको उपचार खर्च ७१ हजार रुपैयाँ तिर्न भनेको थियो ।
असार ८ गते बुहारीलाई प्रसुती व्यथा लागेपछि सासु सुजान देवी सदाले प्रादेशिक अस्पताल जनकपुरमा ल्याएकी थिइन् । त्यहाँ कुनै चिकित्सकले कुनै चासो नदेखाएपछि कसैको माध्यमबाट रामानन्दचोकस्थित तराई राजधानी अस्पतालमा ल्याए ।
त्यस अस्पतालले निलमको नर्मल डेलेभरी पश्चात पनि उनलाई बच्चासहित पाँच दिन राखेर डिस्चार्ज गरे । तर, अस्पतालले पाँच दिनमै आमा र बच्चाको उपचार खर्च ७१ हजार रुपैयाँ तिर्न भन्यो । निलमकी सासु सुजान अस्पतालको बिल हेरेपछि आश्चर्यमा परिन् । उनले विभिन्न सहयोग मार्फत संकलन गरेको ३२ हजार रुपैयाँ अस्पताललाई बुझाएर आफू धेरै गरीब रहेकोले अब हामीलाई घर जान दिनुस भनेर आग्रह गरिन । तर, अस्पतालले उनको आग्रहलाई कुनै वास्ता गरेन । पैसा नतिरेसम्म यहाँबाट जान नदिने अडान दोर्होयाउँदै उनीहरुलाई त्यहाँ बन्धक बनाए ।
फार्मेसीमा पनि ब्रम्ह्लूट
तराई राजधानी हस्पिटलले हस्पिटलको हाताभित्रै स्वयं सञ्चालन गरेको फार्मेसी पनि दर्ताबिना नै सञ्चालन गरी बिरामीसँग अवैध रकम असुल गरिरहेको स्रोतले जनाएको छ ।
अस्पताल भित्र दर्ताबिना नै औषधि पसल सञ्चालन भएको र औषधिको दररेट दोब्बर लिने गरेको बिरामीका आफन्तहरुको गुनासो छ ।
यस अस्पताल भित्रको फार्मेसीले ६ सय रुपैयाँ पर्ने औषधि १ हजार ५ सयसम्ममा बिक्री गरिरहेको नाम उल्लेख नगर्ने सर्तमा अस्पतालकै छेउमा पसल सञ्चालन गरेका एक व्यक्तिले जानकारी दिए । उनले यस अस्पतालमा बराबर कुनै न कुनै घटनाहरु घटिरहेको उनको दावी छ ।
औषधि पसलमा अनुमतिपत्र अर्थात् फार्मेसी उत्तीर्ण भएको प्रमाणपत्र नभएका व्यक्तिले औषधि बिक्री गरिरहेको स्रोतको दावी छ ।
अस्पतालको यस्तो छ दावी
अस्पतालका व्यवस्थापक विकास कुमार सिंहले अस्पताल बिना दर्ता सञ्चालित रहेको स्वीकार गरेका छन् ।
उनले भने,‘जनकपुरमा यो अस्पताल मात्रै नभई ९० प्रतिशतभन्दा बढी अस्पतालहरु अवैध छन् । सम्बन्धित निकायले कारवाही गर्छ भने सबैलाई गरोस, सबै अस्पताल बन्द हुन्छ भने हामी पनि बन्द गर्छौं ।’

