काठमाडौं, १९ माघ । नक्कली पिसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चारजना कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी हस्पिटल र काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालका कर्मचारी रहेका छन् ।

दुवै अस्पतालले वैदेशिक रोजगारमा जाने व्यक्तिहरूका लागि आवश्यक पर्ने पिसीआर रिपोर्ट नेपाल सरकारले तोकेभन्दा बढी रकम लिइ स्वाबको नमुना समेत नलिइ नक्कली पिसीआर रिपोर्ट बनाउने गरेको पाइएको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।

प्रहरीले मंगलबार बिहान साढे १० बजेतिर नागरिक कम्युनिटी टिचिङबाट जारी भएको ८ थान नक्कली पिसीआर रिपोर्टसहित सो अस्पतालका कर्मचारी रोशनकुमार छिट्टानलाई एयरपोर्टबाट र अर्का कर्मचारी हस्पिटलबाट पक्राउ गरेको हो ।

त्यस्तै, कान्तिपुर अस्पतालका कर्मचारीको परिचयपत्र भएका नगेन्द्रकुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई १७ थान नक्कली पिसीआर रिपोर्टसहित अस्पताल अगाडिबाट पक्राउ गरिएको हो । प्रहरीले सोही अस्पतालका ल्याबका कर्मचारी माधव मैनालीलाई पनि ४ थान नक्कली पिसीआर रिपोर्टसहित पक्राउ गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरू समेतको रोहबरमा दुवै अस्पतालका ल्याबबाट पिसीआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएका कम्प्युटरलगायतका उपकर र पीसीआर टेस्ट दर्ता रजिष्टरहरू समेत नियन्त्रणमा लिएको छ ।