बाराबाट करिव ३ लाख नक्कली नेपाली रुपैयाँसहित एकजना पक्राउ

बारा, १९ माघ । बाराबाट करिव ३ लाख नक्कली नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका–७ पिपरियाका किशोरी साह रहेका छन् ।
ना २५ प १९७८ नम्बरको मोटरसाइकलमा जाँदै गरेका उनलाई बाराको सिम्रौनगढ नगरपालिका–२ नइकाटोला बजारदेखि हरिहरपुर जानेबाटोमा चेकजाँचको क्रममा सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार साँझ ५ बजे चेकजाँचको क्रममा उनको साथबाट १ हजारको २९६ वटा अर्थात २ लाख ९६ हजार नक्कली नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डिआइजी गणेश ठाडा मगरले जानकारी दिए ।
उनको साथबाट १२ हजार १४५ सक्कली रुपैयाँ समेत फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएको डिआइजी मगरले बताए ।

