विषयगत समितिको सभापति चयन प्रक्रिया सुरु

जनकपुरधाम, १९ माघ । मधेस प्रदेशको प्रदेश सभामा विगत लामो समयदेखि रिक्त रहेका विभिन्न विषयगत समितिहरुको सभापति चयन प्रक्रिया सुरु गर्न लागिएको छ ।
विषयगत संसदीय समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गराउन प्रदेश सभा सचिवालयले आह्वान गरेको हो ।
प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले बुधबार एक सूचना प्रकाशित गरी प्रदेश सभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको रिक्त रहेको पद सभापति चयन प्रक्रिया सुरु गरिएको जानकारी दिए ।
सूचनामा प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १४९ को उपनियम (३) अनुसार माघ २४ गते सोमवार विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको उल्लेख छ ।
प्रमुख प्रतिपक्षी दलका प्रदेश सभा सदस्य सार्वजनिक लेखा समितिको सभापति हुने कानूनी व्यवस्था रहेको छ ।



