संविधान र कानुनको पालना गर्ने दायित्वबाट सरकार पछि हट्दैन : गृहमन्त्री खाँण

काठमाडौं, १८ माघ । गृहमन्त्री बालकृष्ण खाँणले संविधान र कानुनको पालना गर्ने दायित्वबाट सरकार पछि नहट्ने बताएका छन् ।
गृहमन्त्रालयमा नेपाल निजामती कर्मचारी युनियनले आज बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाँणले कानुनको पालना गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । युनियनले विभिन्न सरकारी कार्यालयमा काम गरिरहेका कर्मचारीमाथि कानुन विपरीतका कार्य भइरहेको भन्दै कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
‘सरकारको दायित्व संविधान र कानुनको पालना गर्नु हो,’ गृहमन्त्री खाँणले भने, ’कानुनविपरीतका काम गर्नेलाई कारबाही हुन्छ, त्यसमा हामी अनुसन्धान गरिरहेका छौँ ।’
उनले राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्ने काम कसैबाट हुन नहुने बताए । युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेल नेतृत्वको टोलीले महोत्तरी, धनकुटा, कैलाली, बझाङ, पर्सा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायतका जिल्लामा राष्ट्रसेवक कर्मचारीमाथि भएका गैर न्यायिक घटनाका दोषीलाई कानुन अनुरुपको कारबाहीको माग गरेको थियो ।
डिभिजन वन कार्यालय पहलमानपुर कैलालीका सहायक वन अधिकृत विश्वराज पण्डितलगायतमाथि भएको दुर्व्यवहारको विरोध गर्दै युनियनले कारबाहीका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


